after_navbar

मौद्रिक नीतिपछि सेयर बजारमा गिरावट, देखियो नितिगत व्यवस्था र असार मसान्तको चापको असर


१० घण्टा अगाडि


काठमाडौ, २३ असार । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेलगत्तै सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । मौद्रिक नीति सार्वजनिक हुने दिन उत्साहका साथ २४ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक, नीति बाहिरिएपछि भने लगानीकर्ताको असन्तुष्टि र निराशाका कारण ३०.०९ अंकले ओरालो लागेर २६२१.५९ विन्दुमा बन्द भएको छ । मौद्रिक नीतिले बजारका लागि कुनै खास वा खुकुलो व्यवस्था नगरेको भन्दै लगानीकर्ताहरू निराश हुँदा बजारमा यसको प्रत्यक्ष असर देखिएको हो ।

​नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही वृद्धि भएको छ । मंगलबार ४ अर्ब ४० करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार उक्त रकम बढेर ४ अर्ब ८२ करोड रूपैयाँ पुगेको छ । यस दिन बजारमा ३६२ वटा धितोपत्रको ८४ लाख ६३ हजार १५ कित्ता सेयर किनबेच भएको छ, जसमध्ये २५ कम्पनीको सेयरमूल्य बढ्दा २४७ वटा कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

​विशेषगरी मौद्रिक नीतिमा उल्लेख गरिएको सेयर धितो कर्जासम्बन्धी नयाँ व्यवस्थाप्रति लगानीकर्ताहरू असन्तुष्ट देखिएका छन् । नीतिमा संस्थाको वित्तीय सबलताका आधारमा मात्रै सेयर धितो कर्जाको सीमा निर्धारण गरिने उल्लेख छ । हाल १८० दिनको औसत मूल्य वा वर्तमान बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ७० प्रतिशतसम्म सेयर कर्जा उपलब्ध हुँदै आएको पृष्ठभूमिमा नयाँ व्यवस्थाले लगानीकर्तालाई सशङ्कित बनाएको छ । बजारमा कतिपय कमजोर वित्तीय अवस्था भएका कम्पनीहरूको सेयर मूल्य उच्च र सबल कम्पनीहरूको मूल्य न्यून रहेका बेला राष्ट्र बैंकको यो नीतिले कमजोर कम्पनीहरूलाई कस्ने संकेत गरेपछि बजार प्रभावित भएको हो ।

​यो नीतिगत व्यवस्थाको सबैभन्दा ठूलो मार जलविद्युत् (हाइड्रोपावर) समूहमा परेको छ । ‘संस्थाको सबलता’ लाई आधार मान्ने नीतिका कारण कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड बाहेकका सबै समूह घट्दा हाइड्रोपावर समूह सर्वाधिक १.७० प्रतिशतले ओरालो लागेको छ । बजारमा सूचीकृत अधिकांश जलविद्युत् कम्पनीहरूको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँभन्दा कम रहेकाले नयाँ व्यवस्था लागू हुँदा ती कम्पनीहरूको सेयरमा कर्जा सीमा घट्न सक्ने डरले लगानीकर्ताहरू यो समूहबाट बाहिरिन खोजेका हुन् ।

​बजार घट्नुमा नीतिगत व्यवस्था मात्र नभई लगानीकर्ताहरूको उच्च अपेक्षा र रणनीतिक दबाबले पनि काम गरेको छ । नयाँ मौद्रिक नीति आउने बेला बजारमा ठूलो उत्साहको अपेक्षा गरिएको भए तापनि सार्वजनिक भएको नीति अत्यन्त संक्षिप्त रहँदा धेरै महत्त्वपूर्ण विषयहरू छुटेको महसुस लगानीकर्ताहरूले गरेका छन् । अर्कोतर्फ, असार मसान्त नजिकिँदै गर्दा बैंकको ब्याज र किस्ता बुझाउने समय भएकाले बजारमा बिक्री चाप बढेको हो । असार मसान्तभित्र बैंकको दायित्व फर्स्योट गर्नका लागि लगानीकर्ताहरूले हतार-हतार सेयर बेचेर नगद जुटाउन खोज्दा बजारलाई थप ओरालो लाग्न बल पुगेको विष्लेषकहरूको भनाइ छ ।

​बुधबारको कारोबारमा एनएमबी डिबेन्चर ८.५०%-२०८७/८८ को सेयर मूल्य सर्वाधिक ५.५२ प्रतिशतले बढेर प्रतिइकाई १ हजार १४५ रुपैयाँ कायम भएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक १३.४१ प्रतिशतले घटेर प्रति कित्ता १ हजार ७७५ रूपैयाँमा झरेको छ । त्यस्तै, १०% केबिएल डिबेन्चर २०८९ को सर्वाधिक ६२ करोड ३९ लाख बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="