लागूऔषध दुर्व्यसन र साइबर अपराधविरुद्ध सचेतना कार्यक्रम सम्पन्न
१३ घण्टा अगाडि
दाङ,२८ साउन । दाङको तुलसीपुरमा लागूऔषध दुर्व्यसन तथा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा उक्त कार्यक्रम गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका, नगर युवा परिषद् र नगरस्तरीय युवा सञ्जालको संयुक्त आयोजनामा तथा इलाका प्रहरी कार्यालय तुलसीपुर र दिव्यकुञ्ज एकेडेमीको सहकार्यमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दिव्यकुञ्ज एकेडेमीमा सचेतना कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम नगर युवा परिषद्का उपाध्यक्ष प्रकाश रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–६ का वडाध्यक्ष दुर्जमान भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज दाङका सभापति कोमल डिसी, विद्यालय सञ्चालक समितिका सदस्य गोरखबहादुर ओली र प्रधानाध्यापक कुलानन्द अधिकारीलगायतको सहभागिता थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक असिम हमालले लागूऔषध दुर्व्यसन र साइबर अपराधका कारण, यसबाट हुने जोखिम तथा बच्ने उपायबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा विद्यार्थी तथा सहभागीलाई लागूऔषधबाट टाढा रहन र सामाजिक सञ्जाल तथा इन्टरनेटको सुरक्षित प्रयोग गर्न सचेत गराइएको थियो।
प्रतिक्रिया दिनुहोस