प्यूठान,२८ साउन । प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये तीन पुरुष र दुई महिलाको रहेको प्रहरीले जनाएको छ।
बिहान करिब साढे ७ बजे स्वर्गद्वारी नगरपालिका-९ जुडापाटास्थित माडी खोला किनारमा अन्दाजी १३ वर्षीय बालकको शव फेला परेको थियो।
त्यसपछि स्वर्गद्वारी नगरपालिका-३ किमिचौरस्थित माडी खोला किनारमा शरीरको माथिल्लो भाग मात्र देखिने अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
स्वर्गद्वारी-४ गोठीबाङस्थित माडी खोला किनारमा थप एक महिलाको शव फेला परेको थियो। यस्तै, बिहान साढे ९ बजे स्वर्गद्वारी-५ सरोजास्थित लुङ्ग्री खोला किनारमा टाउको र बायाँ खुट्टाको घुँडामुनिको भाग नभएको अवस्थामा अर्की महिलाको शव फेला परेको थियो।
बिहीबार बिहान १० बजेपछि माण्डवी गाउँपालिका-५ अर्थौसस्थित खोला किनारमा थप एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी नरहरि अधिकारीले जानकारी दिए।
फेला परेका पाँचै शवको सनाखत हुन सकेको छैन।
प्रहरीका अनुसार रोल्पाको थबाङमा पहिरोपछि आएको बाढीले बगाएर ती शव प्यूठानका विभिन्न खोलासम्म ल्याएको हुनसक्ने आशंका गरिएको छ।
थबाङमा पहिरोपछि बाढीले मानिस बगाएको हुनसक्ने भएकाले त्यसतर्फ पनि अनुसन्धान भइरहेको डीएसपी अधिकारीले बताए।
प्यूठानमा मानिस हराएको वा अन्य बाढीपहिरोको घटना भएको जानकारी नआएकाले शवको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस