दाङ,२८ साउन। दाङका युवा सौरव वलीद्वारा निर्मित चलचित्र ‘लज्जावती’ भोली शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। राजबहादुर सानेको निर्देशनमा बनेको चलचित्र प्रेमकथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ। चलचित्रमा प्रेम, भावना र जीवनका विभिन्न उतारचढावलाई प्रस्तुत गरिएको छ।
चलचित्र पत्रकार संघ दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा संघका केन्द्रीय सदस्य ध्रुवराज न्यौपानेले दाङकै माटोमा हुर्किएका सौरव वलीको चलचित्र निर्माणको प्रयास दाङका लागि गौरवको विषय भएको बताए । उनले ‘लज्जावती’ले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे।
चलचित्रका दुई गीत यसअघि नै सार्वजनिक भइसकेका छन्। चलचित्रमा माओत्से गुरुङ, मुकुन भुषाल, सुशील पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, मेनुका माझी, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्कालगायत कलाकारको अभिनय रहेको छ।
चलचित्र पत्रकार संघ दाङकी अध्यक्ष निरला अर्यालले स्थानीय प्रतिभा, कला र संस्कृतिलाई राष्ट्रिय पहिचान दिलाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताइन्। उनले सौरव वलीको प्रयासले दाङका नयाँ पुस्ताका कलाकार तथा सिर्जनशील युवालाई पनि प्रोत्साहन गर्ने धारणा राखिन्।
आहा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता सौरभ वली हुन्। चलचित्रका निर्माता कमलप्रसाद शर्मा र सन्दीप रोकाया तथा कार्यकारी निर्माता दीपक भण्डारी र सह-निर्माता भीमराज रोकाया रहेका छन्। चलचित्रको छायांकन दिव्यराज सुवेदीले गरेका छन् ।
चलचित्रको शुभमुहूर्त पशुपतिनाथ मन्दिर परिसरमा गरिएको थियो। घटस्थापनाको अवसरमा शुभमुहूर्तसँगै चलचित्रको छायांकन सुरु गरिएको थियो। चलचित्रको छायांकन पशुपति आर्यघाटलगायत विभिन्न स्थानमा गरिएको निर्माण पक्षले जनाएको छ।
‘लज्जावती’ प्रेमकथामा आधारित भए पनि यसमा मौलिक कथा, भावना र जीवनका विभिन्न पक्षलाई समेटिएको निर्माण पक्षको भनाइ छ। चलचित्र शुक्रबारदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुने तयारीमा छ।
प्रतिक्रिया दिनुहोस