काठमाडौ,३० साउन। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी विद्रोहपछि पनि पुराना राजनीतिक शक्ति फेरि सक्रिय हुनु र नयाँ शक्तिहरू अलमलिएको देखिनु विडम्बनापूर्ण भएको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले बाह्य रूपमा बढ्दै गएको भूराजनीतिक तनाव र देशभित्र लामो समयदेखि रहेको आर्थिक, राजनीतिक तथा सामाजिक समस्या कुनै पनि बेला विस्फोट हुनसक्ने अवस्था रहेको बताएका हुन्।
उनले जेनजी विद्रोहको एक वर्ष पुग्न लाग्दा इतिहासबाट बिदा हुन लागेका पुराना शक्ति फेरि सक्रिय हुनु र नयाँ शक्ति स्पष्ट दिशाविहीन देखिनु चिन्ताको विषय भएको उल्लेख गरेका छन्।
भट्टराईले यस्तो अवस्थामा देश र जनताप्रति प्रतिबद्ध सबै राजनीतिक शक्तिले विश्व इतिहास र नेपालको आफ्नै इतिहासबाट सिक्दै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
पुराना शक्तिले प्रतिशोधको भावनाबाट काम गर्नुभन्दा आफ्ना कमजोरीको इमानदार समीक्षा गर्नुपर्ने उनको सुझाव छ। त्यस्तै, नयाँ सत्ताधारी शक्तिले पनि अहंकारका साथ एक्लै अघि बढ्न खोज्नुको सट्टा विनम्र र संयमित भएर सबैको साथ लिएर शासन सञ्चालन गर्नुपर्ने उनले बताएका छन्।
भट्टराईले यस्तो जिम्मेवारी पूरा गर्न नसके देशका लागि अहिलेको अवस्था जोखिमपूर्ण र घातक बन्न सक्ने चेतावनी दिएका छन्।
समाज परिवर्तन र लोकतान्त्रिक शासन सञ्चालन कुनै एकल व्यक्तिको दौड नभई सामूहिक प्रयास भएको उल्लेख गर्दै उनले यसलाई ‘रिले दौड’को संज्ञा दिएका छन्।
प्रतिक्रिया दिनुहोस