काठमाडौ,११ भदौ ।रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि जोखिम अझै कायम रहेको भन्दै चीनको जलस्रोत मन्त्रालयले उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ। नेपालतर्फ नदी थुनिएर बनेको नयाँ ताल जुनसुकै बेला फुट्न सक्ने र त्यसबाट तल्लो तटीय क्षेत्रमा पुनः आकस्मिक बाढी आउन सक्ने चिनियाँ अधिकारीहरूले बताएका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार नेपालको चोजियान खोला र पुर्पुच्याङ्बु खोला मिसिने दोभाननजिकै पहिरो गएर नदी थुनिएपछि ठूलो अवरोधित ताल बनेको हो।
बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी तालबाट बाहिर बग्न थालेको चिनियाँ अधिकारीहरूले जनाएका छन्। आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी तालमा जम्मा हुन सक्ने अनुमान गरिएको छ।
तालको बाँध जुनसुकै बेला फुट्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा पुनः ठूलो बाढीको जोखिम रहेको जनाइएको छ। चिनियाँ जलस्रोत मन्त्रालयले तालको अवस्थालाई भू-उपग्रह तथा राडार प्रविधिमार्फत निरन्तर निगरानी गरिरहेको जनाएको छ।
सम्भावित बाढीको गति र प्रभावबारे वैज्ञानिक गणना तथा सिमुलेसन गरी आपत्कालीन पूर्वतयारीका लागि तथ्यांक विश्लेषण भइरहेको पनि मन्त्रालयले जनाएको छ।
यसैबीच, नेपालतर्फबाट आएको बाढी-पहिरोका कारण चीनको तिब्बतस्थित ग्याइरोङ (केरुङ) नाका क्षेत्रमा समेत ठूलो क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। बिहीबार बिहानसम्म त्यहाँ तीन जनाको मृत्यु पुष्टि भएको र दुई जनाको जीवितै उद्धार गरिएको बताइएको छ।
सीमा क्षेत्रमा २६० विदेशी नागरिकसहित ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि चिनियाँ जनमुक्ति सेना, इन्जिनियरिङ टोली र हेलिकोप्टर परिचालन गरिएको छ।
नेपालतर्फ नदी थुनिएर बनेको ताल फुट्ने जोखिम उच्च रहेकाले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई थप सतर्क रहन आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस