दाङ,१६ भदौ। भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि नारायणी नदीमा भेटिएका २१६ शवमध्ये १५९ वटा शवको व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डीएसपी० अनिल पण्डितका अनुसार पहिचान हुन नसकेका शवलाई स्थानीय वन क्षेत्रमा जमिनमुनि गाडेर अस्थायी रूपमा व्यवस्थापन गरिएको हो।
उनका अनुसार कावासोती नगरपालिकास्थित ज्योतिकुञ्ज सामुदायिक वन र देवचुली नगरपालिकास्थित दिव्य मध्यवर्ती सामुदायिक वनमा पहिचान हुन नसकेका शव व्यवस्थापन गरिएको छ।
व्यवस्थापन गरिएका शवमध्ये २९ महिला, ४७ पुरुष, सात बालक, सात बालिका तथा ६९ वटा मानव अङ्ग रहेका छन्। जिल्लामा हालसम्म ४७ महिला, ७३ पुरुष, ११ बालक र १५ बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। यस्तै, खुट्टा, हात, छाती, शरीरको बायाँ भाग, पेट, टाउको तथा कम्मरमाथिको भागलगायत ७० वटा मानव अङ्ग पनि फेला परेका छन्।
१७ शवको पहिचान
प्रहरीका अनुसार जिल्लामा भेटिएका १७ वटा शवको पहिचान खुलेपछि आफन्तलाई बुझाइएको छ। पहिचान भएका व्यक्तिहरूमा मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका २४ वर्षीय सुमन गोले र ३६ वर्षीय उद्धव खड्का, गोरखाको पालुङटार-५ का ४२ वर्षीया सुजाता कौडाल, ५१ वर्षीया कमला देवकोटा र ४० वर्षीय केदार पण्डित, चितवनको माडी–७ का २८ वर्षीय विमल काफ्ले रहेका छन्।
त्यस्तै, अर्घाखाँचीको पाणिनी-७ का ४५ वर्षीय नारायणबहादुर थापा, नवलपरासी (बर्दघाट-सुस्तापश्चिम)को सुस्ता-१ का ३७ वर्षीय यादव भण्डारी, धादिङको खनियावास-५ का ४२ वर्षीय संजोग घर्तीमगर, नुवाकोटको विदुर–७ की ५६ वर्षीया शारदा ढकाल, विदुर-८ का २८ वर्षीय विशाल आलेमगर र विदुर–-० का पाँच वर्षीय प्रतिन्स तामाङको पहिचान खुलेको प्रहरीले जनाएको छ।
सप्तरीको खडक-५ का २८ वर्षीय सन्तोष चौधरी, काभ्रेपलाञ्चोकको पाँचखाल-६ का ४६ वर्षीय डिगबहादुर कायस्थ, काठमाडौंको बौद्धका ३४ वर्षीय राजु सुनार, रसुवाको आमाछोदिङमो-३ की ३४ वर्षीया हीमा लोप्चन र सिन्धुपाल्चोकको जुगल-५ का २१ वर्षीय वीरबहादुर श्रेष्ठको पनि पहिचान खुलेको डीएसपी पण्डितले जानकारी दिए।
पहिचान खुलेका शवको आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई हस्तान्तरण गरिएको उनले बताए। उनका अनुसार केही शव प्रहरी कार्यालयमा राखिएको तस्बिर हेरेर, केही घटनास्थलमै आफन्त पुगेर तथा केही वेबसाइटमा राखिएका तस्बिर हेरेर पहिचान भएका हुन्। केही शव भने हातको पाखुरामा खोपिएको ट्याटुका आधारमा पहिचान गरिएको प्रहरीले जनाएको छ।
४० शव व्यवस्थापन गर्न बाँकी
प्रहरीका अनुसार जिल्लामा भेटिएका ४० शव तथा मानव अङ्गको व्यवस्थापन गर्न बाँकी छ। वस्थापन हुन बाँकीमध्ये १४ महिला, १४ पुरुष, तीन बालक, आठ बालिका र एउटा मानव अङ्ग रहेको डीएसपी पण्डितले बताए।
प्रतिक्रिया दिनुहोस