after_navbar

प्रदेश र स्थानीय तहको अधिकार हस्तान्तरण गर्न माग


४ घण्टा अगाडि


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार पूर्ण रूपमा कार्यान्वयन हुने गरी हस्तान्तरण गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।

संविधान दिवसका अवसरमा शुक्रबार राप्ती उपत्यका देउखुरीस्थित प्रदेश प्रशासनिक परिसरमा आयोजित सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले संविधानले निर्दिष्ट गरेका सबै अधिकार प्रदेश र स्थानीय तहले अझै पूर्ण रूपमा प्रयोग गर्न नपाएको बताए।

‘संविधानले दिएका अधिकार अहिले पनि प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्न पाइरहेको अवस्था छैन,’ उनले भने, ‘संविधानले निर्दिष्ट गरेका अधिकार प्रदेश र स्थानीय तहमा दिन संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उनले बताए। संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयनबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने उनको भनाइ थियो।

यसैबीच, संविधान दिवसका अवसरमा प्रदेश सरकारले आयोजना गरेको सरसफाइ अभियानअन्तर्गत प्रदेश प्रशासनिक परिसरमा सरसफाइ गरिएको छ। परिसरलाई स्वच्छ, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

प्रदेशका प्रमुख सचिव विनोदबहादुर कुँवरका अनुसार प्रशासनिक परिसरलाई २३ क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रमा सरसफाइ केन्द्र तोकिएको छ। सरसफाइपछि फलफूलका बिरुवा रोप्ने र संरक्षण गर्ने योजना रहेको उनले बताए।

सरसफाइ तथा संरक्षणको अवस्थाको मूल्यांकन गर्न प्रदेश योजना आयोगका सचिवको नेतृत्वमा टोली गठन गरिएको छ। उत्कृष्ट काम गर्ने क्षेत्रलाई मूल्यांकनका आधारमा पुरस्कृत गर्ने तयारीसमेत गरिएको कुँवरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

data-href="