दाङ। देशका विभिन्न जिल्लाबाट बहने साना नदी तथा खोलामा बहाव बढ्नुका साथै आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र अछाम तथा आसपासका जिल्लाका साना नदीमा बहाव बढ्न सक्ने सम्भावना छ।
वर्षाका कारण जलसतह बढेर साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
विशेषगरी नदी तटीय क्षेत्र, खोला किनार तथा बाढीको जोखिममा रहेका बस्तीका बासिन्दालाई वर्षाका बेला अनावश्यक रूपमा नदी तथा खोला पार नगर्न र जलसतह बढे सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ।
महाशाखाले मौसम तथा बाढीसम्बन्धी पछिल्ला सूचना नियमित हेर्न र सम्बन्धित निकायले जारी गर्ने पूर्वसूचनालाई ध्यान दिनसमेत आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस