after_navbar

पत्रकार र उपमहानगरबिच छलफलः स्थानीय मिडियालाई उपेक्षा नगर्न आग्रह


२ घण्टा अगाडि


दाङ। तुलसीपुर उपमहानगरपालिकाले पालिका र सञ्चारमाध्यमको समन्वयका विषयमा पत्रकारहरुसंग छलफल गरेको छ । नगर प्रवक्ता माधव वलीको अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र शिवाकोटीको विशेष उपस्थितीमा छलफल गरिएको हो । छलफलमा पत्रकारहरूले उपमहानगरपालिकाबाट प्रवाह हुने सूचना तथा विज्ञापनमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

पत्रकारहरूले लोककल्याणकारी विज्ञापन तथा कार्यक्रम वितरणका लागि कार्यविधि बने पनि त्यसको पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको गुनासो गरे। उनीहरूले कार्यविधिअनुसार सबै सञ्चारमाध्यमलाई समान रूपमा समेटेर विज्ञापन तथा कार्यक्रम वितरण गर्नुपर्नेमा जोड दिए।

उपमहानगरपालिकासँग सम्बन्धित सूचना तथा विज्ञापन बाहिरका सञ्चारमाध्यममा जाने गरेको भन्दै पत्रकारहरूले स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन आग्रह गरे। स्थानीय सञ्चारमाध्यमले स्थानीयस्तरका गतिविधि, सेवा तथा नागरिकका सवाललाई प्राथमिकताका साथ उठाउँदै आएको भन्दै स्थानीय मिडियासँग सहकार्य बढाउनुपर्ने उनीहरूको धारणा थियो।

पत्रकारहरूले तुलसीपुर र घोराही एउटै जिल्लाका स्थानीय तह भए पनि तुलसीपुर अझै मिडियामैत्री बन्न नसकेको बताए। स्थानीय तह र सञ्चारमाध्यमबीच नियमित संवाद तथा समन्वय आवश्यक रहेको उनीहरूको भनाइ थियो।

छलफलमा पत्रकारहरूले समाचार सम्प्रेषणसँगै उपमहानगरपालिकाबाट सेवाग्राहीलाई सहज र मुस्कानसहितको सेवा प्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने सुझाव पनि दिए।

प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र शिवाकोटीले स्थानीय तह र सञ्चारमाध्यमबीचको समन्वय तथा सहकार्यलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै अघि बढ्ने बताए। कार्यक्रमको सहजीकरण सूचना अधिकारी यज्ञ केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="