दाङ ७ असोज। ३५ वर्षमुनि युवा महिला कोटाबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएकी तुलसीपुर–१६ की जुली पोख्रेलले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेकी छन्। दाङ क्षेत्र नं २ बाट प्रतिनिधित्व हुने गरि उम्मेदवारी दिनलागेको जुलीले बताइन ।
नेपाल ल क्याम्पसमा बीए एलएलबी अध्ययनरत जुलीले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी हुन्। उनी स्ववियु सदस्यमा खुलातर्फबाट निर्वाचित भएकी थिइन्।
उनी तुलसीपुर १६ बाट निर्विरोध जेन्जी समूहबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी थिइन्।
युवाको नेतृत्व कांग्रेसमा सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याउँदै जुलीले आफूले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएकी छन्। पढेलेखेका युवाको ज्ञान, प्रविधि र ऊर्जालाई पार्टी संगठन तथा देश विकाससँग जोड्नुपर्ने उनको भनाइ छ।
“म कसैको प्रतिद्वन्द्वी वा प्रतिस्पर्धी होइन। मेरो उम्मेदवारी मजबुत कांग्रेस र युवामय कांग्रेस निर्माणका लागि हो,” जुलीले भनिन्।
उनले कांग्रेसभित्र नयाँ पुस्ताको सहभागिता र नेतृत्व स्थापित गर्दै युवाले पार्टी र देश हाँक्न सक्छन् भन्ने नमुना प्रस्तुत गर्ने आफ्नो उद्देश्य रहेको बताएकी छन्।
प्रतिक्रिया दिनुहोस