दाङ। जिल्ला प्रशासन कार्यालय दाङले राष्ट्रिय परिचयपत्र र राहदानीका लागि आवश्यक अनलाइन फाराम कार्यालयबाटै भर्ने व्यवस्था गरेको छ।
कार्यालयले बुधबार सूचना जारी गर्दै सेवाग्राहीको सुविधाका लागि राष्ट्रिय परिचयपत्रको नयाँ विवरण दर्ता (इनरोल्मेन्ट), बायोमेट्रिक विवरण संशोधन तथा राहदानीको अनलाइन आवेदन फाराम कार्यालयबाटै भर्ने व्यवस्था गरिएको जनाएको हो।
राष्ट्रिय परिचयपत्र बनाउन नागरिकताको सक्कल प्रमाणपत्र आवश्यक पर्नेछ। विवाहितले विवाह दर्ता प्रमाणपत्र, एकल महिला वा विदुर पुरुषले पति वा पत्नीको मृत्यु दर्ता प्रमाणपत्र तथा बसाइँसराइ गरी आएका व्यक्तिले बसाइँसराइ प्रमाणपत्रको सक्कल पेश गर्नुपर्नेछ।
राहदानी बनाउन सक्कल नागरिकता र राष्ट्रिय परिचयपत्र आवश्यक पर्नेछ। नाबालकको हकमा नाबालक परिचयपत्र आवश्यक पर्ने कार्यालयले जनाएको छ।
कार्यालयले आवश्यक कागजातसहित सम्बन्धित सेवाग्राहीलाई सम्पर्क गर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस