दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेशलाई दिएको एकल तथा साझा अधिकार संघीय सरकारले हस्तान्तरण गर्न नसकेको बताएका छन्। संविधान जारी भएको एक दशक बितिसक्दा पनि प्रदेशले अधिकार प्राप्तिका लागि आवाज उठाउनुपर्ने अवस्था रहेको उनले बताए।
कोशी प्रदेश सरकारले आयोजना गरेको मुख्यमन्त्री सम्मेलनको उद्घाटन सत्रमा बोल्दै आचार्यले प्रदेशलाई अधिकारसम्पन्न बनाउन तीन तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वय आवश्यक रहेको बताए। संविधानले दिएका अधिकार कार्यान्वयन नहुँदा प्रदेश सरकारको काम प्रभावित भएको उनको भनाइ थियो।
उनले प्रदेश प्रहरी प्रदेश सरकार मातहत ल्याउन प्रहरी ऐन र प्रशासनिक संयन्त्र प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन आवश्यक रहेको बताए। त्यस्तै, वित्तीय स्रोत हस्तान्तरण र शिक्षा ऐन निर्माणमा ढिलाइ हुँदा प्रदेशले आफ्नो अधिकार प्रयोग गर्न नसकेको उल्लेख गरे।
विद्यालय समायोजन गर्नेसम्मको अधिकार प्रदेशसँग नहुनु विडम्बनापूर्ण भएको बताउँदै उनले प्रदेश सरकारलाई प्रभावकारी बनाउन आवश्यक कानुन निर्माण र प्रशासनिक तथा वित्तीय अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।
सम्मेलनले प्रदेशका साझा समस्या पहिचान गरी समाधानका ठोस उपाय निकाल्ने र अघिल्ला बैठकका निष्कर्ष कार्यान्वयनको समीक्षा गर्ने विश्वाससमेत आचार्यले व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस