after_navbar

भारतको ऊर्जा एक्सचेन्जमा ५९४ मेगावाट विद्युत् बिक्री गर्न प्राधिकरणलाई अनुमति


१२ घण्टा अगाडि


काठमाडौ। नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा ५९४ मेगावाट विद्युत् बिक्री गर्न अनुमति पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गत स्वीकृत आयोजनाको विद्युत् डेअहेड र रियल टाइम मार्केटमा बिक्री गर्न अनुमति दिएको हो।

मंसिर २ गते प्राप्त स्वीकृतिअनुसार सन् २०२६ नोभेम्बर १८ देखि २०२७ जुन १४ (२०८३ मंसिर २ देखि २०८४ जेठ ३१) सम्म उक्त परिमाणको विद्युत् बिक्री गर्न सकिनेछ।

अनुमति पाएकोमध्ये २०५ मेगावाट विद्युत् कटैया-कुशाहा, रामनगर-सुरजपुर र रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत तथा ३८९ मेगावाट ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट निर्यात गरिनेछ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार एनभीभीएनमार्फत ३८९ मेगावाट र पीटीसीमार्फत २०५ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति प्राप्त भएको हो।

नेपाल र भारतका एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) तथा पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) बीचको मध्यकालीन सम्झौताअनुसार हरियाणा र बिहारमा हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विद्युत् निर्यात हुँदै आएको छ। चालु आर्थिक वर्षका लागि सम्झौताअनुसार विद्युत् निर्यात गर्ने अवधि गत अक्टोबर ३१ मा सकिएको थियो।

वर्षायाममा आन्तरिक खपतभन्दा बढी हुने विद्युत् वैकल्पिक बजारका रूपमा आईएक्समा बिक्री गर्न प्राधिकरणले निर्यातयोग्य आयोजनाको सूची निर्यात अवधि सकिनुअघि नै भारतीय निकायमा पठाएको थियो। निरन्तर पहलपछि ५९४ मेगावाट विद्युत् बिक्रीको अनुमति प्राप्त भएको प्राधिकरणले जनाएको छ।

थप २१.३४ मेगावाट निर्यातको अनुमति

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले सेती खोला जलविद्युत् आयोजनाबाट उत्पादित थप २१.३४ मेगावाट विद्युत् निर्यात गर्न पनि स्वीकृति दिएको छ। उक्त विद्युत् सन् २०२६ नोभेम्बर १८ देखि २०२७ अगस्ट ३१ (२०८३ मंसिर २ देखि २०८४ भदौ १५) सम्म आईएक्समा बिक्री गर्न सकिनेछ।

यससँगै भारततर्फ विद्युत् निर्यातका लागि स्वीकृत कुल परिमाण १ हजार १९८ मेगावाट पुगेको छ। आगामी हिउँदयाममा माग र आपूर्तिको व्यवस्थापन गर्न भारतबाट १ हजार ४ मेगावाट विद्युत् आयात गर्ने अनुमति पनि प्राप्त भइसकेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="