after_navbar

दाङसहित विभिन्न जिल्लामा एनसेलको थ्रीजी सेवा बन्द


१५ घण्टा अगाडि


दाङ,२ साउन । दूरसञ्चार सेवा प्रदायक एनसेलले सेवा स्तरोन्नति गर्ने योजनाअनुसार दाङसहित विभिन्न जिल्लाका स्थानीय तहमा थ्रीजी सेवा बन्द गरेको छ।

कम्पनीले असार २९ गते सोमबारदेखि चरणबद्ध रूपमा थ्रीजी सेवा हटाउँदै फोरजी र ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधि विस्तारमा जोड दिएको जनाएको छ।

कम्पनीका अनुसार नयाँ प्रविधि अपनाउँदै फोरजी नेटवर्कलाई अझ सुदृढ बनाउने र भ्वाइस तथा डेटा सेवाको अनुभव परिस्कृत गर्ने उद्देश्यले थ्रीजी सेवा बन्द गरिएको हो। थ्रीजी बन्दसँगै देशको झण्डै ९५ प्रतिशत जनसंख्यामा विस्तार भइसकेको फोरजी नेटवर्कमार्फत भोल्टे सेवा प्रयोग गरी उच्च गुणस्तरको भ्वाइस कल र मोबाइल ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने योजना रहेको छ।

भोल्टे सेवा प्रयोग गर्न फोरजी सपोर्ट गर्ने मोबाइल, फोरजी सीम वा इ सिम आवश्यक पर्ने कम्पनीले जनाएको छ। साथै, मोबाइलको सेटिङमा भोल्टे विकल्प सक्रिय गर्नुपर्ने हुन्छ।

हाल पनि कतिपय प्रयोगकर्ताले फोरजी चल्ने सिमकार्ड र मोबाइल प्रयोग गरे पनि सेटिङ नमिलाउँदा थ्रीजीमै सीमित भइरहेको कम्पनीको भनाइ छ। यस्ता ग्राहकलाई गुणस्तरीय सेवा लिन फोरजीमा अपग्रेड हुन आग्रह गरिएको छ।


एनसेलले तीन प्रदेशका चार जिल्लाका ३५ स्थानीय तहका २१५ भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गरेको जनाएको छ। लुम्बिनी प्रदेशको दाङ जिल्लामा घोराही, तुल्सीपुर, लमही, बबई र शान्तिनगर लगायतका क्षेत्रमा थ्रीजी सेवा हटाइएको छ।

यस्तै इलाम, पाँचथर र पर्साका विभिन्न स्थानीय तहमा पनि थ्रीजी सेवा बन्द गरिएको छ। कम्पनीले यसअघि पनि विभिन्न चरणमा देशका अन्य क्षेत्रमा थ्रीजी सेवा हटाउँदै आएको थियो।

भोल्टे प्रविधिमा भ्वाइस कलको गुणस्तर उच्च हुने, फोन सम्पर्क छिटो स्थापित हुने तथा डेटा र भ्वाइस सेवा एकैसाथ सहज रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकहरूले ८१२३८११३ डायल गरी भोल्टे सेवा सक्रिय गर्न सक्नेछन्।


कम्पनीले प्रविधि स्तरोन्नतिसँगै ग्राहकले उही शुल्कमा अझ गुणस्तरीय सेवा पाउने दाबी गर्दै देशभर क्रमशः थ्रीजी सेवा बन्द गर्दै जाने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="