काठमाडौ,३ साउन। देशभरका औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत उद्योगीहरूले ४६ करोड बढी बक्यौता रकम दाखिला गरेका छन् । आर्थिक वर्ष २०८२÷०८३ को असार मसान्तसम्म रु ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा दाखिला गरेका हुन्।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड का सूचना अधिकारी वासुदेव सोडारीका अनुसार विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले उक्त अवधिमा रु ४६ करोड ८६ लाख राजस्व बुझाएका हुन्।
देशभरका औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका ३०० भन्दा बढी उद्योगबाट भने अझै रु ८८ करोड बक्यौता बाँकी रहेको जनाइएको छ। बक्यौता नबुझाउने उद्योगमाथि कारबाहीसमेत थालिएको छ। सोडारीका अनुसार बक्यौता नतिर्ने १० उद्योगको विद्युत् लाइन काटिएको छ।
त्यसमध्ये कन्टिनेन्टल ग्रुप अन्तर्गतका दुई उद्योगले मात्रै रु ४ करोड बक्यौता तिर्न बाँकी रहेको उल्लेख गरिएको छ। सम्बन्धित निकायले बाँकी बक्यौता उठाउन कडाइ गर्ने र उद्योगहरूलाई समयमै महसुल तिर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस