after_navbar

बालसुधार गृह सुधार्न संसदीय समितिको ४ बुँदे निर्देशन


श्रावण ०३, २०८३


दाङ,३ साउन । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले देशभरका बालसुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई चार बुँदे निर्देशन दिएको छ।

बालसुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि तथा पोषण व्यवस्थापनमा तत्काल काम अघि बढाउन निर्देशन दिएको हो।

समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहहरूमा बढ्दो चाप र सीमित पूर्वाधारलाई ध्यानमा राख्दै वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।

यसैबीच रुपन्देही स्थित बालसुधार गृह साँघुरो र अनुपयुक्त देखिएकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न सुझाव दिइएको छ।

समितिले बालबालिकालाई दिइँदै आएको दैनिक ‘सिधा’ तथा रकम उनीहरूको उमेर र शारीरिक आवश्यकताअनुसार अपर्याप्त रहेको ठहर गर्दै पोषण तथा खाद्य व्यवस्थापनमा सुधार गर्न सरकारलाई सचेत गराएको छ।

उपसमितिको प्रतिवेदनअनुसार देशभर रहेका १० वटा बालसुधार गृहको कुल क्षमता १ हजार ८५ जना भए पनि हाल १ हजार १ सय ९५ जना बालबालिका आश्रित रहेका छन्।

त्यस्तै, पुराना र कारागारजस्ता संरचनामा सञ्चालन भइरहेका ती सुधार गृहहरूमध्ये केवल चार वटामा मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="