दाङ, ४ साउन। दाङको तुलसीपुरमा महिलासँग आयआर्जन र आर्थिक विकासका विषयमा तुलसीपुर मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विभिन्न समुदायका महिला समूह तथा विपन्न लक्षित थारु महिलासँग अन्तरक्रिया कार्यक्रम भएको हो।
बेस संस्थाको आयोजना तथा तुलसीपुर उद्योग वाणिज्य संघको सहकार्य एवम् डोम च्यारिटी र फेमिली फाउन्डेसनको सहयोगमा कार्यक्रम गरिएको हो। विपन्न महिला तथा महिला समूहलाई आयआर्जनसँग जोडेर आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बेसका कार्यक्रम निर्देशक पिंकी डाँगीले बताइन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमत्री डिल्ली बहादुर चौधरीले महिलाहरू आयआर्जनमा अनिवार्य रूपमा जोडिनुपर्ने बताउँदै आर्थिक समृद्धिका लागि महिलाले सिप, व्यवसाय र कृषि क्षेत्रमा सक्रिय हुनुपर्ने बताए। उनले भने-‘ महिलामा आर्थिक विकास भयो भने मात्रै समाज रूपान्तरण सम्भव हुन्छ।’
उनका अनुसार महिलाहरूले घरमै बसेर मासिक २०–३० हजार रुपैयाँसम्म आम्दानी गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारले यस वर्ष करिब १० हजार महिलालाई आयआर्जनमा जोड्ने लक्ष्यसहित कार्यक्रम ल्याएको छ।
तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष विनिल केसीले महिलाहरूको सिप विकास र आयआर्जनका लागि संघले आवश्यक सहयोग गर्ने बताए।
त्यस्तै महासचिव केशवराज केसीले थारु समुदायका परम्परागत वस्तुहरूको संरक्षण गर्दै त्यसलाई व्यवसायीकरण गर्न सके राम्रो आम्दानीको स्रोत बन्न सक्ने धारणा राखेका थिए।
कार्यक्रममा सहभागी महिलाहरूले प्रविधि र बजार पहुँचमा सहयोग भए आफ्नो सिपलाई व्यवसायमा रूपान्तरण गर्न सकिने बताएका थिए। केही महिला समूहले समूहगत रूपमा उत्पादन सुरु गरी राम्रो आम्दानी गरिरहेको अनुभव पनि सुनाएका थिए।
उजेली चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण गोपाल शर्मा भट्टराईले गरेका थिए। कार्यक्रममा विभिन्न वक्ताले उत्पादन, बजारीकरण तथा आयआर्जनका सम्भावनाबारे जानकारी गराएका थिए।
प्रतिक्रिया दिनुहोस