दाङ, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि रसुवा र नुवाकोटमा कार्यरत दाङका २२ जना सम्पर्कविहीन भएका छन्। तीमध्ये अधिकांश तुलसीपुरका रहेका छन्।
रोजगारी तथा कामको सिलसिलामा रसुवा र नुवाकोट पुगेका उनीहरू बाढी तथा पहिरोपछि सम्पर्कविहीन भएको भन्दै आफन्तले जिल्ला प्रशासन कार्यालय दाङलाई जानकारी गराएका हुन्। सम्पर्कविहीन हुनेमा स्वास्थ्यकर्मी, जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा अन्य कामका लागि त्यहाँ पुगेका व्यक्ति छन्।
जिल्ला प्रशासन कार्यालयमा प्राप्त विवरणअनुसार सम्पर्कविहीनमध्ये तुलसीपुरका मात्रै १७ जना रहेका छन्। यस्तै घोराहीका एक, दंगीशरणका एक, राजपुरका दुई र रोल्पा तथा प्युठान स्थायी घर भएका तर दाङमा बस्दै आएका व्यक्ति पनि सूचीमा छन्।
प्रशासनमा प्राप्त विवरणअनुसार सम्पर्कविहीन हुनेहरूमा तुलसीपुर-१३ का लालबहादुर रोका, गोपीलाल रोका र नारायण अधिकारी, तुलसीपुर-१८ का गोपाल परियार, विकास परियार र सुदन गिरी, तुलसीपुर-१२ का बजारु चौधरी, तिलक चौधरी र रामकुमार चौधरीलगायत छन्।
यस्तै तुलसीपुरका कोपिला केसी, खम्बु बोहोरा, शिवशंकर जोशी, प्रमिला बुढाथोकी, शोभाराम योगी, धुर्बबहादुर बुढामगर, पूर्णबहादुर बस्नेत, सिमा चौधरीलगायत पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
घोराही-१५ भरतपुरका सूर्यबहादुर केसी, दंगीशरण-६ का प्रेम विक, राजपुर-१ कठबेरवाका गोपाल चौधरी र बुद्धिराम चौधरी तथा रोल्पा स्थायी घर भई दाङ बस्दै आएका राजेन्द्र महत पनि सम्पर्कविहीनको सूचीमा छन्।
प्रशासनले सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ। बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा सञ्चार तथा सडक सम्पर्कसमेत प्रभावित भएकाले उनीहरूको अवस्थाबारे यकिन विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस