काठमाडौ। प्रधानमन्त्री बालेन्द्र शाहले मौलिक चाडपर्वले आपसी रिसराग बिर्सेर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्ने बताएका छन्।
नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्।
उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त बनाएर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।
नेवार समुदायमा हर्षोल्लासका साथ मनाइने म्हः पूजाको महत्त्वबारे चर्चा गर्दै उनले यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउने बताएका छन्। ‘म्हः’ अर्थात् आफ्नै शरीर र त्यसमा रहेको चेतनालाई साक्षी राखेर अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने परम्परा रहेको उनको भनाइ छ।
म्हः पूजाले नेवार समुदायमा आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै सामुदायिक एकतालाई प्रगाढ बनाउने उनले उल्लेख गरेका छन्। यसलाई गौरवको विषयका रूपमा लिनुपर्ने उनको भनाइ छ।
त्यस्तै, भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाएको पौराणिक मान्यतासँग जोडिएको गोवर्धन पूजा तथा हली तिहारको महत्त्व पनि उनले स्मरण गरेका छन्।
यस अवसरमा कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाउने तथा हलो, फालीलगायत कृषि औजारको पूजा गर्ने परम्परा रहेको उनले बताएका छन्।
भैलोका भाका र देउसेहरूको आशीर्वादले छरछिमेकमा आत्मीयता र सद्भाव बढाउने उल्लेख गर्दै प्रधानमन्त्री शाहले मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुतालाई अझ बलियो बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले पर्वका अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस