काठमाडौ। धनकुटाको पाख्रीबासबाट कौडा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। उनीहरूलाई आज बिहान कौडा र नगदसहित पक्राउ गरिएको हो।
पाख्रीबास नगरपालिका-९, लिसम्बुस्थित विष्णु घिसिङको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी नायब निरीक्षक गणेश दाहालको कमान्डमा प्रहरी टोली खटिएको थियो। टोलीले बिहान २:३० बजे जुवा खेलिरहेको अवस्थामा सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
प्रहरीले घटनास्थलबाट ठूला कौडा १४ वटा, साना कौडा १६ वटा र जुवाको खालबाट चार हजार रुपैयाँ बरामद गरेको छ। पक्राउ परेकाहरूको साथबाट थप एक लाख सात हजार ३१५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका-९ का ५५ वर्षीय विष्णु घिसिङ, ३४ वर्षीय अरुण घिसिङ, ३९ वर्षीय रमेश घिसिङ, ३४ वर्षीय लीलबहादुर मगर, ४४ वर्षीय लक्ष्मीकुमार मगर, २६ वर्षीय जसमान तामाङ र ४८ वर्षीय वीरबहादुर घिसिङ रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको छ।
उनीहरूविरुद्ध ‘जुवा खेल्न तथा सट्टेबाजी गर्न नहुने’ कसुरमा मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डीएसपी हेमन्त थापा क्षेत्रीले बताए।
गत कात्तिक १२ गते पनि पाख्रीबास बजारबाट प्रहरीले कौडासहित ११ जनालाई पक्राउ गरेको थियो। चाडपर्व सुरु भएसँगै धनकुटा प्रहरीले जुवातास नियन्त्रण अभियानलाई सक्रिय बनाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस