काठमाडौ। गत साउन, भदौ र असोज महिनामा ५९० जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन्। देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकताको एकीकृत तथ्यांकअनुसार तीन महिनामा उक्त संख्यामा गैरआवासीय नेपाली नागरिकता जारी भएको हो।
गृह मन्त्रालयले सार्वजनिक गरेको तीन महिनाको प्रगति विवरणमा गैरआवासीय नेपाली नागरिकता जारी भएको तथ्यांक समावेश छ।
गैरआवासीय नेपाली नागरिकता नेपालको संविधान र नागरिकता ऐन, २०६३ को दफा ७९क० बमोजिम विदेशी मुलुकको नागरिकता प्राप्त गरिसकेका साविकका नेपाली नागरिक वा तिनका सन्तानलाई प्रदान गरिने विशेष प्रकारको नागरिकता हो। सार्क सदस्य राष्ट्रबाहेकका मुलुकको नागरिकता प्राप्त गरेका र आफू वा आफ्नो बाबु, आमा, बाजे वा बज्यै साविकमा नेपालको वंशज वा जन्मका आधारमा नागरिक रहेको व्यक्तिले यस्तो नागरिकता प्राप्त गर्न सक्छन्।
गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले नेपालमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउँछन्। उनीहरूले नेपालमा सम्पत्ति आर्जन, भोगचलन, बिक्री–वितरण तथा अन्य आर्थिक कारोबार गर्न सक्छन्।
तर, यस्तो नागरिकता प्राप्त गर्ने व्यक्तिले राजनीतिक अधिकार उपभोग गर्न पाउँदैनन्। उनीहरूले मतदान गर्न, निर्वाचनमा उम्मेदवार बन्न वा नेपाली राहदानी लिन पाउँदैनन्। त्यस्तै, नेपालका सरकारी तथा सार्वजनिक पदमा नियुक्त हुन पनि पाउँदैनन्।
नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ। उक्त धारामा सार्क सदस्य राष्ट्रबाहेकका देशको नागरिकता लिई विदेशमा बसोबास गरेका र आफू वा आफ्ना बाबु, आमा, बाजे वा बज्यै साविकमा नेपालको वंशज वा जन्मका आधारमा नागरिक रहेका व्यक्तिलाई संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने उल्लेख छ।
गैरआवासीय नेपाली नागरिकताका लागि छुट्टै ऐन बनेको छैन। नेपाल नागरिकता ऐन, २०६३ मा २०७९ सालमा संशोधन गरी दफा ७९क० थप गरेर यससम्बन्धी कानुनी व्यवस्था गरिएको हो।
नागरिकता ऐनको दफा ७९क० अनुसार गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले पाँच प्रकारका कागजात पेस गर्नुपर्छ। त्यसमा आफू वा आफ्नो बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण, पहिले नेपाली नागरिकता लिएको भए त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको प्रमाण र नेपालको संविधान तथा कानुन पालना गर्ने प्रतिबद्धतापत्र समावेश छन्।
ऐनको दफा ७ को उपदफा ३ अनुसार पहिले नेपाली नागरिकता लिएर त्यसको प्रमाणपत्र फिर्ता नगरेको भए गैरआवासीय नेपाली नागरिकताका लागि निवेदन दिँदा उक्त प्रमाणपत्रसमेत पेस गर्नुपर्छ।
गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्दा शपथ लिनुपर्ने व्यवस्था पनि छ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले नागरिकता प्राप्त गर्ने व्यक्तिलाई शपथ गराउँछन्। विदेशस्थित नेपाली दूतावास वा महावाणिज्य दूतावासमार्फत निवेदन प्रक्रिया अघि बढाइएको भए पनि नागरिकता जारी गर्ने र शपथ गराउने अन्तिम जिम्मेवारी सम्बन्धित प्रमुख जिल्ला अधिकारीकै हुन्छ।
शपथमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण वफादार रहने तथा नेपालको संविधान र प्रचलित कानुन पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ। साथै, गैरआवासीय नेपाली नागरिकताबाट प्राप्त अधिकारबाहेक अन्य अधिकार उपभोग नगर्ने प्रतिबद्धता पनि जनाउनुपर्छ।
झुटो विवरण वा कागजात पेस गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेमा कानुनबमोजिम कारबाही हुन्छ। यस्तो कसुरमा तीन महिनादेखि एक वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिबाना हुने र नागरिकतासमेत रद्द हुने व्यवस्था छ। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रिय हितविपरीत कार्य गरेको ठहरिएमा पनि गैरआवासीय नेपाली नागरिकता रद्द हुन सक्छ।
प्रतिक्रिया दिनुहोस