after_navbar

प्रधानमन्त्री शाह दुईदिने भ्रमणका लागि भारत प्रस्थान


३ घण्टा अगाडि


काठमाडौ। प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाहलगायत ३५ सदस्यीय प्रतिनिधिमण्डल भारत गएको छ। टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिसमेत सहभागी छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै, सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ।

वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार विकास तथा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारलगायत विषयमा छलफल हुनेछ। साथै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका अवसरमा ऊर्जा सहकार्य तथा सम्पर्क सञ्जालसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्याससमेत गरिनेछ।

भ्रमणको पहिलो दिन आइतबार भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोमबार प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ। उनी फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणबारे जानकारी दिने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस

data-href="