काठमाडौ । निजामती सेवामा आरक्षणको व्यवस्था लागू भएपछि १ हजार १६१ जना अपांगता भएका व्यक्तिले सरकारी सेवामा प्रवेश पाएका छन्।
आदिवासी जनजाति आयोगका अनुसार आर्थिक वर्ष २०६४/६५ देखि २०८०/८१ सम्म उनीहरूले आरक्षणमार्फत निजामती सेवामा अवसर पाएका हुन्।
अपांगता समावेशी विकास विज्ञ कृष्ण गहतराजले आरक्षणबाट अवसर पाए पनि कुन जात, वर्ग, क्षेत्र र लिंगका व्यक्तिको प्रतिनिधित्व भएको छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताए।
उनले अपांगता भएका व्यक्तिलाई दया र सहानुभूतिको पात्रका रूपमा नभई उनीहरूको क्षमता, अधिकार र योगदानका आधारमा हेर्नुपर्नेमा जोड दिए।
त्यस्तै, राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघकी अध्यक्ष प्रतिमा गुरुङले अपांगता भएका महिलाका समस्यालाई विशेष प्राथमिकता दिनुपर्ने बताइन् । उनले अपांगता भएका व्यक्तिको सही तथ्यांक संकलन गर्न पनि सरकारलाई सुझाव दिइन।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद वागचन्दले अपांगता भएका व्यक्तिलाई सम्बोधन गर्दा प्रयोग गरिने अपमानजनक शब्द हटाउनुपर्ने बताए। उनले उनीहरूको क्षमता र योगदानलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दि।
काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले सञ्चारमाध्यमले अपांगतासम्बन्धी समाचार तयार पार्दा सही शब्द र सम्मानजनक भाषा प्रयोग गर्नुपर्ने बताएका हुन्।
प्रतिक्रिया दिनुहोस