दाङ,१५ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारमा सहभागी दलहरूसँग मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने विषयमा छलफल शुरू गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यकामा भइरहेको छलफलमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का दल नेता जोखबहादुर महरा, प्रमुख सचेतक इन्द्रजीत थारू तथा पूर्वमन्त्री दीपेन्द्र पुन सहभागी छन्।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री तुलसीप्रसाद चौधरी तथा जनता समाजवादी पार्टी नेपाल का तर्फबाट युवा तथा खेलकुदमन्त्री सन्तोष पाण्डे र आन्तरिक मामिला तथा कानूनमन्त्री भण्डारीलाल अहिर पनि छलफलमा सहभागी छन्।
प्रदेश सरकारले मन्त्रालय संख्या घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक ८ मन्त्रालय कायम गरेपछि नयाँ संरचनाअनुसार जिम्मेवारी बाँडफाँट गर्न लागिएको हो। यसअघि १२ मन्त्रालय रहेको सरकारलाई प्रशासनिक खर्च घटाउने, कार्यसम्पादन प्रभावकारी बनाउने र समन्वय बढाउने उद्देश्यले पुनर्संरचना गरिएको हो।
छलफलमा दलहरूको प्रतिनिधित्व, राजनीतिक सहमति र कार्यसम्पादन क्षमताका आधारमा मन्त्रालय बाँडफाँट गर्ने विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ।
हाल प्रदेश सरकारमा एमालेका तर्फबाट मुख्यमन्त्रीसहित पाँच जना र जसपाका दुई मन्त्री छन्। नेपाली कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी हाल मुख्यमन्त्री आचार्यले नै सम्हाल्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस