after_navbar

हिमाल एकाडेमीको अभिभावक शिक्षा कार्यक्रम


२४ घण्टा अगाडि


तुलसीपुर , ३० साउन । हिमाल एकाडेमी तुलसीपुरले विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई लक्षित गरी अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालयसँग सम्बन्धित विभिन्न विषय, बालबालिकाको शिक्षण–सिकाइमा अभिभावकको भूमिका तथा बालबालिकाको समग्र विकासका लागि अभिभावकले ध्यान दिनुपर्ने विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो।

विद्यालय सञ्चालक समितिका अध्यक्ष विनयकुमार मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीकस साढे सात सय अभिभावकलाई एकीकृत गर्दै विद्यालय र अभिभावकबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा अभिभावकहरूबाट विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय पक्षसँग सम्बन्धित सुझावसमेत संकलन गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल मधुसूदन केसीले विद्यालयको शैक्षिक गतिविधि, आगामी योजना तथा अभिभावकसँग सम्बन्धित विषयवस्तुबारे जानकारी गराएका थिए। उनले विद्यार्थीको शैक्षिक उपलब्धि र व्यवहारिक विकासमा विद्यालयसँगै अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताए।

सहायक प्रिन्सिपल मुकेश कुमारले स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक भीमलाल मनासिनीले गरेका थिए। कार्यक्रममा सकारात्मक सोचको विकास, व्यवहार सुधारका विधि तथा उपायहरू लगायतका विषयमा प्रशिक्षणसमेत दिइएको थियो। बालबालिकाको क्षमता पहिचान, उनीहरूसँग गर्ने व्यवहार, अध्ययनका लागि अनुकूल वातावरण निर्माण तथा अभिभावक–विद्यालयबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा सहभागी अभिभावकसँग अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले आयोजना गरेको कार्यक्रम प्रभावकारी र उपयोगी भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्न सके अभिभावकहरू पनि बालबालिकाको शिक्षा, व्यवहार र समग्र विकासप्रति थप सचेत तथा जिम्मेवार बन्न सहयोग पुग्ने बताएका थिए।
विद्यालयले अभिभावकलाई विद्यालयको शैक्षिक यात्राको महत्वपूर्ण साझेदारका रूपमा जोड्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="