काठमाडौ,१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्।
सोमबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन्। नेकपा (एमाले) ले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ अल्पमतमा परेका थिए।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको थियो। तर, बहुमत सांसदको समर्थन जुट्ने अवस्था नदेखिएपछि उनले विश्वासको मत लिनुअघि नै राजीनामा घोषणा गरेका हुन्।
१०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। तर, नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुई गरी ३८ सांसदको मात्रै समर्थन देखिएपछि मुख्यमन्त्री बानियाँले राजीनामा दिएका हुन्।
बानियाँ २०८२ साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। उनी बागमतीका छैटौँ मुख्यमन्त्री बनेका थिए।
प्रदेश सभालाई सम्बोधन गर्दै बानियाँले आफ्नो कार्यकालमा प्रदेशवासीको हितमा विभिन्न काम गरेको दाबी गरे। अझै धेरै काम गर्न बाँकी रहे पनि राजनीतिक परिस्थितिका कारण राजीनामा दिनुपरेको उनले बताए।
प्रतिक्रिया दिनुहोस