after_navbar

बाढीपहिरो प्रभावितलाई राहत पुर्‍याउन समस्या


घण्टा अगाडि


रोल्पा ,५ भदौ । रोल्पाको थबाङ गाउँपालिका-५ उवा गाउँका बाढीपहिरो प्रभावितले पर्याप्त राहत सामग्री पाउन सकेका छैनन्। विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन समस्या भएको गाउँपालिकाले जनाएको छ।

थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढामगरका अनुसार गाउँपालिकाले भरियामार्फत राहत सामग्री प्रभावित बस्तीमा पुर्‍याएर वितरण गरिरहेको छ। खाद्यान्न, ओढ्ने-ओछ्याउने सामग्री तथा लत्ताकपडालगायत अत्यावश्यक सामग्री वितरण गरिएको उनले बताए।

उवा पुग्ने मुख्य सडक पहिरोले विभिन्न स्थानमा क्षतिग्रस्त भएपछि अन्य संघसंस्था तथा निकायले ल्याएका राहत सामग्री फुलीवन, पोबाङ र माबाङमै रोकिएका छन्। सडक तत्काल खुल्ने अवस्था नरहेको अध्यक्ष बुढामगरले बताए।

निरन्तर वर्षाका कारण सडक खुलाउने कामसमेत जोखिमपूर्ण बनेको छ। कतिपय ठाउँमा पहिरो र ढुंगा खस्ने जोखिम रहेकाले पैदलमार्फत राहत पुर्‍याउनसमेत कठिनाइ भइरहेको गाउँपालिकाले जनाएको छ।

कतिपय संघसंस्थाले राहत सामग्री स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरेर फर्किएका छन्। सडकसँगै सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा प्रभावितको जनजीवन थप कष्टकर बनेको छ।

गत साउन २७ गते थबाङ-५ उवा तथा साउन २८ गते राति सुनछहरी गाउँपालिका-२ भित्रीगामका विभिन्न स्थानमा बाढीपहिरोले जनधनको क्षति गरेको थियो। प्रभावित परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="