बांके,५ भदौ । लामो समयदेखि रोकिएको नेपालगञ्ज-पोखरा नियमित हवाई सेवा भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने भएको छ।
निजी हवाई सेवा प्रदायक बुद्ध एयरले यात्रुको माग बढेसँगै उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने भएकाले पछिल्लो समय यस उडानप्रति यात्रुको आकर्षण बढेको हो।
यसअघि गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु तथा इन्धन खर्च बढेपछि सेवा रोकिएको शाहले बताए । पछिल्लो समय धार्मिक पर्यटकको आवागमन र उडानको माग बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।
तालिकाअनुसार नेपालगञ्ज-पोखरा उडान आइतबार, बुधबार र शुक्रबार सञ्चालन हुनेछ। बुद्ध एयरले उडानका लागि बुकिङसमेत खुला गरिसकेको जनाएको छ।
उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यो सेवाले पश्चिम नेपाल तथा भारतीय पर्यटकलाई पोखरासँग सिधा जोड्ने भएकाले पर्यटनका लागि महत्वपूर्ण हुने बताए।
हवाई सेवा सञ्चालन भएपछि बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्न सहज हुने र पोखरालगायतका क्षेत्रबाट बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा आवतजावत गर्न पनि सहज हुने व्यवसायीहरूको अपेक्षा छ।
स्थानीय पर्यटन व्यवसायीको पहलमा २०७८ साल साउन १७ गतेदेखि नेपालगञ्ज-पोखरा सातामा तीन दिन नियमित उडान सुरु गरिएको थियो।
प्रतिक्रिया दिनुहोस