after_navbar

प्याब्सन तुलसीपुरको प्रअ भेला सम्पन्न


घण्टा अगाडि


दाङ,६ भदौ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तुलसीपुर नगर समितिको प्रधानाध्यापक भेला सम्पन्न भएको छ । शनिवार तुलसीपुर उपमहानगरपालिका-७ स्थित अमर इङ्लिस स्कुलमा प्रधानाध्यापक भेला भएको हो।

आगामी शैक्षिक प्रदर्शनीमा विद्यालयको सहभागितालाई प्रभावकारी बनाउने उदेश्यसहित उक्त भेला गरिएको हो। प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीको अध्यक्षतामा भएको भेलामा आगामी असोज ९, १० र ११ गते आयोजना हुन लागेको ‘जर्नी टू जिनिअस एक्स्पो २०८३’ लाई व्यवस्थित ढंगले सम्पन्न गर्ने विषयमा छलफल गरिएको थियो।

एक्स्पोमा विद्यालयहरूले विद्यार्थीका सिर्जना, शैक्षिक सामग्री तथा विभिन्न प्रस्तुति कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा सहभागी प्रधानाध्यापकहरूले धारणा राखेका थिए।

भेलामा प्राज्ञिक परिषद् सदस्य यादव गिरीले एक्स्पोको उद्देश्य र त्यसले विद्यार्थीको सिर्जनशीलता तथा प्रतिभा प्रदर्शनमा पुर्‍याउने योगदानबारे जानकारी गराएका थिए।

कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, प्रमुख सल्लाहकार मधुसुदन केसीलगायतले एक्स्पोको तयारी र विद्यालयको सहभागिताका विषयमा धारणा राखेका थिए। नगर उपाध्यक्ष विष्णु योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव कमल सापकोटाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="