दाङ,६ भदौ । व्यवसायीक सफलता हासिल गर्नका लागि उद्यमीहरु एकताबद्द हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । विशेषगरी महिला उद्यमीहरूले सन्चालन गरेका व्यवसायहरुको विस्तार र आत्मनिर्भरताका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
शनिबार तुलसीपुर उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यमी परिषद्को आयोजनामा भएको तीज मिलन कार्यक्रममा सहभागी महिला उद्यमीहरूले स्थानीय उत्पादनको बजारीकरण र व्यवसाय विस्तारका लागि आपसी सहकार्य आवश्यक रहेको बताएका हुन्।
उनीहरूले आफूले उत्पादन गरेका सामग्रीलाई स्थानीय बजारमा मात्र सीमित नराखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्नेमा जोड दिए। महिलाहरू व्यवसाय तथा आर्थिक क्षेत्रमा सक्षम बन्दै गएकाले उनीहरूलाई बजार, प्रविधि र आवश्यक सहजीकरणको पहुँच बढाउनुपर्ने सहभागीहरूको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी, पूर्व अध्यक्ष बिमल रिजाल, रामप्रसाद चालिसे, संघका उपाध्यक्ष देब वहादुर केसी लगायतले महिला उद्यमीका उत्पादनको बजारीकरणका लागि संघले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए। स्थानीय उत्पादनलाई बजारसँग जोड्न सके उद्यमको थप विस्तारमा सहयोग पुग्ने उनले बताए।
नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नारायणी रजौरेलगायत वक्ताहरूले महिला उद्यमीहरूको सक्रियताको प्रशंसा गर्दै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्नेमा जोड दिए।
कार्यक्रम महिला उद्यमी परिषद्की अध्यक्ष निरु ओलीको अध्यक्षतामा भएको थियो। तीजको अवसर पारेर आयोजित कार्यक्रममा महिला उद्यमीहरूले सांस्कृतिक प्रस्तुति, शुभकामना तथा अनुभव आदानप्रदानसमेत गरेका थिए।
कार्यक्रम परिषद्की उपाध्यक्ष कल्पना विष्टको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन सल्लाहकार सपना भण्डारी बस्नेतले गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस