दाङ, ७ भदौ । रुकुम पश्चिममा गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका-४ बलेटक्साकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवाली रहेका छन्।
आइतबार बिहान करिब साढे ८ बजे सानीभेरी गाउँपालिका-८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा उनीहरूलाई भे.१ ज.१४८२ नम्बरको ईभी गाडीले ठक्कर दिएको थियो।
प्रहरीका अनुसार स्वस्तिका र उनकी छोरी क.प्र.०२-००१ ख १०७० नम्बरको यात्रुबाहक फोर्स गाडीमा मुसिकोटबाट सुर्खेततर्फ जाँदै थिए। बाटोमा छोरीले शौचालय जान भनेपछि फोर्स गाडी रोकेर आमाछोरी ओर्लिएका थिए। सोही क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आएको ईभीले उनीहरूलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको जिल्ला अस्पताल सल्लेमा उपचारका क्रममा आइतबार बिहान करिब साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक झबेन्द्र परियारले जानकारी दिए।
स्वस्तिका श्रीमान् घनश्याम ज्ञवालीलाई भेट्न मुसिकोट पुगेकी थिइन्। ज्ञवाली मुसिकोटस्थित सनराइज बैंकमा कार्यरत छन्। श्रीमानलाई भेटेर छोरीसहित गुल्मीस्थित घर फर्किने क्रममा उनीहरू दुर्घटनामा परेका हुन्।
दुर्घटनामा संलग्न ईभीका चालक सानीभेरी गाउँपालिका-३ चौखेका २२ वर्षीय अम्मर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस