बर्दिया । बर्दियाको राजापुर नगरपालिका-३ चख्खापुरस्थित लालजीपुर सामुदायिक वनबाट सोमबार बिहान समस्याग्रस्त चितुवा नियन्त्रणमा लिइएको छ। डिभिजन वन कार्यालय बर्दियाले बिहान साढे ७ बजे चितुवालाई नियन्त्रणमा लिएको हो।
करिब सात वर्षको वयस्क चितुवा ६० किलो तौलको रहेको अनुमान गरिएको वनका कर्मचारीले बताएका छन्। उक्त चितुवाले गत बिहीबार राजापुर-३ चख्खापुरका ४२ वर्षीय मंगल थारूलाई आक्रमण गरी मारेको वरिष्ठ सहायक वन अधिकृत सन्तोष चौधरीले बताए।
सदरमुकाम गुलरियाबाट करिब ४० किलोमिटर पश्चिम-उत्तरमा उक्त घटना भएको थियो।
बर्दियामा पछिल्लो दुई वर्षमा चितुवाको आक्रमणबाट १२ जनाको मृत्यु भइसकेको छ। सोही अवधिमा डिभिजन वन कार्यालयले १० वटा समस्याग्रस्त चितुवा नियन्त्रणमा लिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस