दाङ। टिपरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएपछि अवरुद्ध घोराही-लमही सडकखण्ड सञ्चालनमा आएको छ। दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै स्थानीयले सोमबार बिहान साढे ११ बजेदेखि घोराही उपमहानगरपालिका-३ कुइरेपानीमा सडक अवरुद्ध गरेका थिए।
प्रहरी नायब उपरीक्षक डा. हेम केसीको सक्रियतामा स्थानीयवासी, पीडित परिवार र स्वर्गद्वारी टिपर व्यवसायी समितिबीच छलफल भएको थियो। छलफलपछि घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने र पीडित पक्षलाई कानुनअनुसार क्षतिपूर्ति दिने सहमति भएको छ।
सहमति जुटेसँगै अवरुद्ध सडक सञ्चालनमा आएको हो। सडक अवरुद्ध हुँदा उक्त मार्ग भएर आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका थिए।
आइतबार बेलुका करिब साढे ५ बजे बंगलाचुलीबाट लमहीतर्फ जाँदै गरेको रा.१ ख २५११ नम्बरको टिपरले बालक राजन अधिकारीलाई ठक्कर दिएको थियो।
घोराही-३ कुइरेपानी निवासी लोकमणि अधिकारीका छोरा राजनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा साँझ साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस