after_navbar

नेपालले क्यानडालाई २४ रनले हरायो


१७ घण्टा अगाडि


काठमाडौ। कप्तान रोहितकुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा क्यानडालाई २४ रनले पराजित गरेको छ। आइतबार ओमानको अल अमिरातमा भएको खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ ओभर ४ बलमा २११ रनमा समेटियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालका लागि रोहितले १२७ बलमा आठ चौका र एक छक्कासहित १०१ रन बनाए। योसँगै उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्।

नेपालले सुरुवाती तीन विकेट छिट्टै गुमाएपछि रोहितले बसिर अहमदसँग चौथो विकेटका लागि ७७ रनको साझेदारी गरे। बसिरले ३० रन बनाउँदा गुल्सन झाले ३४ बलमा चार चौका र तीन छक्कासहित ४८ रन जोडे। क्यानडाका अखिल कुमारले चार तथा सुखजिन्दर सिंहले तीन विकेट लिए।

क्यानडाका लागि आरोन जोहनसनले ४४, समित गोहेलले ३५ र अखिल कुमारले अविजित ३० रन बनाए। नेपालका सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र नन्दन यादवले समान दुई-दुई विकेट लिए।

जितसँगै नेपाल ३३ खेलबाट २६ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। क्यानडा २५ अंकसहित सातौँ स्थानमा झरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="