after_navbar

अम्बे स्टिलको भट्टीमा विद्युत् सर्ट हुँदा आगलागी: ८ जना घाइते


५ घण्टा अगाडि


​१५ कात्तिक, बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा विद्युत् सर्ट सर्किट हुँदा भीषण आगलागी भएको छ। आइतबार बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने २५–२५ टन क्षमताका तीनवटा भट्टीमा अचानक विद्युत् सर्ट भई आगलागी सुरु भएको थियो। दुर्घटनामा परेर ८ जना कामदार घाइते भएका छन्।

​आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा ५ जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीहरूको संयुक्त प्रयासमा बिहान सवा ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

​प्रहरीका अनुसार आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन्। घाइतेमध्ये जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार र २२ वर्षीय रामदिन हरिजनको अवस्था मध्यम रहेकोले उनीहरूलाई बिहान पौने ९ बजे थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। अन्य घाइतेहरूमा सोही ठाउँका २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव, ३५ वर्षीय लक्ष्मीराम यादव तथा भारतको बहराइच कठौतियाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिवकुमार निषाद र २५ वर्षीय विनोदकुमार निषाद रहेका छन्। उनीहरू सबैको अवस्था सामान्य रहेको र भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट भएको अन्य क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="