काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज (आइतबार) देखि शुल्क तिर्नुपर्ने भएको छ। सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको प्रकारअनुसार फरक–फरक दरमा सडक उपभोग दस्तुर लागू गरेको हो।
सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा शुल्क संकलन सुरु गर्न लागिएको आयोजनाले जनाएको छ।
निर्धारित शुल्कअनुसार वर्ग १ मा पर्ने कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबसलगायत हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, वर्ग २ अन्तर्गतका मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
वर्ग ३ मा पर्ने बस तथा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
यसैगरी, वर्ग ४ अन्तर्गतका मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने आयोजनाले जनाएको छ।
आयोजनाले सवारीसाधनको वर्गीकरणअनुसार शुल्क निर्धारण गरी सुरुङमार्ग प्रयोग गर्ने सबै सवारीसाधनबाट सडक उपभोग दस्तुर संकलन गर्ने व्यवस्था गरेको हो।
प्रतिक्रिया दिनुहोस