चितवन। चितवन हात्ती महोत्सवमा हात्ती प्रयोग गरेर खेल खेलाउने विषय विवादमा परेको छ। हात्तीलाई संवेदनशील प्राणीका रूपमा मान्यता दिँदै सर्वोच्च अदालतले दिएको निर्देशनपछि पशुअधिकार संस्था पेटाले महोत्सवका आयोजक र प्रायोजकहरूलाई कार्यक्रमबाट अलग हुन आग्रह गरेको छ।
हात्तीको फुटबल खेलका क्रममा माहुतेहरूले कुटपिट गरेको देखिने भिडियो सार्वजनिक भएपछि माछापुच्छ्रे बैंक र काठमाडौंस्थित पर्यटन कम्पनी हिमालयन सोसल जर्नीलगायत केही प्रायोजकले महोत्सवलाई दिँदै आएको समर्थन फिर्ता लिएका छन्। पेटाले बाँकी प्रायोजक ईबुकिङ नेपाल, बाराहसिंघे बियर र टेकमाइन्ड्स नेटवर्कलाई पनि समर्थन फिर्ता लिन आग्रह गरेको छ।
पेटाका अनुसार महोत्सवका क्रममा हात्तीलाई गतिविधिमा सहभागी गराउन माहुतेहरूले लाठी र घरेलु हतियारले पटकपटक प्रहार गरेको भिडियोमा देखिन्छ। एउटा घटनामा हात्तीलाई घोच्ने, लात्ती हान्ने र कुटपिट गरी ६४ पटक प्रहार गरिएको आरोप संस्थाले लगाएको छ। पर्यटकसँग तस्बिर खिचाउन प्रयोग गरिएका हात्तीलाई समेत धारिलो टुप्पो भएको अङ्कुशले कुटपिट गरिएको पेटाको दाबी छ।
पेटाले नेपाल पर्यटन बोर्ड र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई महोत्सवमा हात्तीको प्रयोग रोक्न आवश्यक व्यवस्था गर्न आग्रह गरेको छ। पेटाका अध्यक्ष जेसन बेकरले सर्वोच्च अदालतको निर्देशनले हात्तीलाई पर्यटनका लागि प्रयोग गरिने सामग्रीका रूपमा व्यवहार गर्न नहुने स्पष्ट पारेको बताएका छन्।
यसअघि पनि पेटाले हात्तीमाथि दुर्व्यवहार भएको भन्दै भिडियो सार्वजनिक गरेपछि पेप्सी, बुद्ध एयर र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकजस्ता कम्पनीले महोत्सवको प्रायोजनबाट हात झिकेका थिए।
पेटाले बन्दी अवस्थामा राखिएका हात्ती प्राकृतिक सामाजिक संरचना र व्यवहारबाट वञ्चित हुने तथा मानसिक तनावमा पर्न सक्ने भन्दै पर्यटन र मनोरञ्जनमा हात्ती प्रयोगको विरोध गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस