दाङ । दाङको राजपुर गाउँपालिका-२ बेलाको खाल गैरा खेल मैदानमा आफ्नै छिमेकीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका-२ मटेरिया निवासी ३९ वर्षीय त्रिलोक सिंह कार्की रहेका छन्। उनले सोही ठाउँका ४८ वर्षीय रुपलाल चौधरी ९गोमे० माथि पेट्रोल खन्याएर आगो लगाएको आरोप लागेको छ।
आज अपराह्न मादक पदार्थ सेवन गरेका कार्की र चौधरीबीच आपसी विवाद भएपछि झगडा भएको थियो। सोही क्रममा कार्कीले आफूसँगै ल्याएको पेट्रोल चौधरीको शरीरमा खन्याएर आगो लगाइदिएको बताइएको छ।
आगोले जलेर चौधरी गम्भीर घाइते भएका छन्। घटनापछि फरार भएका कार्कीलाई वडा प्रहरी कार्यालय लमहीको टोलीले लमहीबाट नियन्त्रणमा लिएको हो।
गम्भीर घाइते चौधरीलाई थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रतिक्रिया दिनुहोस