after_navbar

आनी छोइङले सम्हालिन् लुम्बिनी विकास कोषको उपाध्यक्ष पद


५ मिनेट अगाडि


दाङ। स्थानीयको विरोध र कडा सुरक्षा व्यवस्थाबीच लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङले बुधबार पदभार ग्रहण गरेकी छन्।

बुधबार दिउँसो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षामा लुम्बिनी पुर्‍याइएको थियो।

आनीको नियुक्तिलाई लिएर स्थानीयले निरन्तर विरोध गर्दै आएका छन्। बुधबार पनि आन्दोलनकारीहरू लुम्बिनीस्थित पर्साचोकमा प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकारी रहेको सडक प्रयोग नगरी प्रहरीले अर्को सडकमार्फत उनलाई मायादेवी मन्दिर पुर्‍याएको थियो।

मायादेवी मन्दिरमा पूजाआजा गरेपछि आनी आफ्नो कार्यकक्ष पुगेर पदभार ग्रहण गरेकी हुन्। त्यसक्रममा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले सबैको सहकार्यमा लुम्बिनीको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाइन्।

यसैबीच, कोषाध्यक्षमा नियुक्त पूर्वएआईजी रमेशशेखर बज्राचार्य र सदस्यसचिव सन्तोष पाण्डेयले पनि बुधबार नै पदभार सम्हालेका छन्। मंगलबार बज्राचार्य कोषाध्यक्षमा नियुक्त भएसँगै लुम्बिनी विकास कोषले पूर्णता पाएको हो।

प्रतिक्रिया दिनुहोस

data-href="