काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दु राष्ट्र स्थापनाका लागि सडक र संसद् दुवैबाट आवाज उठाउनुपर्ने बताएकी छन् ।
नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले हिन्दु राष्ट्र स्थापनाका लागि धार्मिक गुरुहरूले पनि राजनीतिक दलका नेताहरूलाई दबाब दिनुपर्ने बताइन् ।
मठमन्दिरमा आउने नेताहरूलाई हिन्दु राष्ट्र स्थापनाबारे प्रश्न गर्नुपर्ने उनको भनाइ थियो। साथै, गौहत्या, गौतस्करी र हिन्दु समुदायमाथि हुने हिंसाका घटनाविरुद्ध धार्मिक संगठनहरू सडकमा उत्रिनुपर्नेमा उनले जोड दिइन्।
सांसद ओलीले छठ पर्वका बेला घाट भत्काइएको घटनामा राजनीतिक दलका नेता र धार्मिक गुरुहरूले प्रश्न नउठाएको भन्दै असन्तुष्टि व्यक्त गरिन । सनातनी समुदायको विश्वास जित्न हिन्दु समुदायका पक्षमा स्पष्ट रूपमा आवाज उठाउनुपर्ने उनको भनाइ थियो।
हिन्दु राष्ट्र स्थापनाका लागि राप्रपाले संसद्मा निरन्तर आवाज उठाउने र धार्मिक गुरुहरूले संसद्बाहिरबाट सहयोग गर्नुपर्ने उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस