काठमाडौं,९ साउन। प्रदेश सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बिच सहमति भएकाे छ। दुई पार्टीबिच प्रदेश सरकार गठनका लागि नयाँ गठबन्धन गर्ने गरी सहमति बनेको हो।
पछिल्लो समय प्रदेश सभाहरूमा बजेट निर्माणका क्रममा देखिएका असहमति, बजेट विहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्याहरूको समाधान गर्दै जनताको चाहना अनुरूप राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रदेशिक विकासको गतिलाई तीव्र बनाउन दुई राजनीतिक दलहरूबीच सहमति भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रूपमा हस्ताक्षर गरी सार्वजनिक गरेको सहमति पत्र अनुसार प्रदेशसभाहरूमा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने निर्णय गरिएको छ।
समझदारीअनुसार संयुक्त सरकारमा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्नेछ।
त्यसैगरी, मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने भएको छ।
२०८३ साल साउन ९ गते जारी गरिएको यस सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया दिनुहोस