after_navbar

आवश्यकताभन्दा बढी ग्यास नराख्न निगमको आग्रह


११ घण्टा अगाडि


काठमाडौ,२९ साउन। नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ।

बजारमा ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढेपछि निगमले यस्तो आग्रह गरेको हो।

निगमका अनुसार असार ३१ गतेदेखि १४ दशमलव २ किलोग्राम क्षमताका भरिएका एलपी ग्यास सिलिन्डर नियमित रूपमा बिक्रीवितरण भइरहेका छन्। साविकको तुलनामा अहिले करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्रीवितरण भइरहेको निगमले जनाएको छ।

आपूर्ति बढे पनि बजारमा ग्यास सहज रूपमा नपाएको गुनासो आएपछि निगमले बजार अनुगमन तीव्र बनाएको छ। अनुगमनका क्रममा केही होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा अन्य व्यावसायिक प्रतिष्ठानले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गरेको पाइएको निगमले जनाएको छ।

व्यावसायिक प्रयोजनका लागि आवश्यकभन्दा बढी सिलिन्डर भण्डारण गर्दा सर्वसाधारण उपभोक्ताका लागि ग्यासको उपलब्धता प्रभावित हुन सक्ने निगमको भनाइ छ।

निगमले व्यवसाय सञ्चालनका लागि आवश्यक मात्रामा मात्रै ग्यास सिलिन्डर मौज्दात राख्न सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ। यसअघि नै आवश्यकताभन्दा बढी सिलिन्डर राखिएको भए सम्बन्धित डिपोमार्फत सर्वसाधारणलाई बिक्री गर्नसमेत निगमले अनुरोध गरेको छ।

आफ्नो आग्रहविपरीत अनावश्यक रूपमा ग्यास सिलिन्डर मौज्दात राखेको भेटिएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने निगमले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="