after_navbar

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै


५ घण्टा अगाडि


दाङ,१ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। दिउँसो १ बजेपछि बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन्।

नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच साउन ९ गते भएको तीनबुँदे सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका आचार्यलाई नै निरन्तरता दिने निर्णय भएको थियो।

सहमति कार्यान्वयन गर्दै नेपाली कांग्रेसले साउन १२ गते सरकारबाट बाहिरिँदै मुख्यमन्त्री आचार्यलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि संवैधानिक व्यवस्थाअनुसार आचार्यले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको हो।

आचार्य पहिलोपटक २०८१ साउन ७ गते कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेस सरकारबाट बाहिरिएको हो।

हाल मुख्यमन्त्री आचार्यलाई नेकपा, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतको समर्थन रहेको बताइएको छ। यद्यपि, जसपा नेपालले भने भदौ १ गते मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ।

लुम्बिनी प्रदेशसभामा हाल ८३ जना सांसद छन्। सरकार गठनका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन्। सभामुखले बराबरीको अवस्थामा बाहेक मतदान गर्न नपाउने भएकाले मुख्यमन्त्रीलाई बहुमत पुर्‍याउन थप समर्थन आवश्यक पर्ने देखिन्छ।

प्रदेशसभामा कांग्रेसका २७, राप्रपाका ४, जनमत र जसपा नेपालका ३/३, जसपाका २, राष्ट्रिय जनमोर्चाका १ र एक जना स्वतन्त्र सांसद छन्। बहुमत जुटाउन मुख्यमन्त्री आचार्यले अन्य दल तथा सांसदको समर्थन लिनुपर्ने अवस्था छ।

प्रतिक्रिया दिनुहोस

data-href="