after_navbar

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना


६ घण्टा अगाडि


काठमाडौ,२ भदौ । उच्च अदालत वीरगन्ज, पर्साका मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना भएको छ। दुर्घटना हुँदा स्कारपियोमा सवार सबै घाइते भएका छन् ।

मंगलबार बिहान करिब ७ बजे काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेलमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको हो।

दुर्घटनामा दुई महिला र चार पुरुष घाइते भएका छन्। प्रहरीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाएको छ। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको र अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाउने तयारी भइरहेको छ। घाइतेहरूको नाम तथा अन्य विवरण भने खुल्न बाँकी छ।

दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको टोलीसमेत घटनास्थलमा खटिएको छ।

दुर्घटनामा परेको स्कारपियो घटनास्थलमै रहेको र सडकमा यातायात भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="