काठमाडौ,२ भदौ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी ४९ वर्षीया लक्ष्मी बडुको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते बडुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार बिहान काठमाडौंस्थित छाउनी अस्पताल लगिएको थियो। बिहान १०ः०४ बजे अस्पताल पुर्याइएकी उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।
बडुको शव छाउनी अस्पतालमै राखिएको प्रहरीले जनाएको छ। उनी रजिस्ट्रार तारादत्त बडुकी पत्नी हुन्।
दुर्घटनामा घाइते भएका चार जनालाई मंगलबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो। उनीहरूमध्ये उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रितेन्द्र बडु र रिता बडुको उपचार भइरहेको छ।
यसअघि स्कारपियो चालक छुनिलाल चौधरी र रजिस्ट्रार तारादत्त बडुलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो।
मंगलबार बिहान काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको स्कारपियो भीमफेदी-६ जुरीखेलमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो।
प्रतिक्रिया दिनुहोस