सुर्खेत,३ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने तयारी गरेका हुन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता शाही नेकपा एमालेको समर्थनमा साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका थिए। केन्द्रमा एमाले र नेकपाबीच साउन ९ गते भएको तीनबुँदे सहमतिअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको थियो।
मुख्यमन्त्री नियुक्त भएको तीन साता बितिसक्दा पनि शाहीले मन्त्रिपरिषद् गठन गर्न सकेका छैनन्। हाल उनी एक्लैले सरकार सञ्चालन गरिरहेका छन्। विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी रहेको बताइएको छ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १४, एमालेका सभामुखसहित १० र राप्रपाका एक सांसद छन्। कांग्रेसलाई समर्थन गर्दै आएका एक स्वतन्त्र सांसदसमेत छन्।
एमालेका १० र नेकपाका १४ गरी नयाँ सत्ता गठबन्धनसँग २४ सांसदको समर्थन रहेकाले मुख्यमन्त्री शाहीले विश्वासको मत पाउने सम्भावना देखिएको छ। विश्वासको मतपछि प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस