after_navbar

तुलसीपुर उपमहानगरले चारवटा गाडी भाडामा लिँदै


८ मिनेट अगाडि


दाङ,३ भदौ ।तुलसीपुर उपमहानगरपालिकाले चारवटा गाडी भाडामा लिने भएको छ। उपमहानगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक गाडीधनीबाट आवेदन मागेको छ।

सूचनामा भने दुईवटा डबल क्याप पिकअप गाडी आवश्यक रहेको उल्लेख छ। महेन्द्रा, इसुजी वा सोही प्रकृतिका गाडी मासिक ६५ हजार रुपैयाँका दरले भाडामा लिन खोजिएको सूचनामा उल्लेख छ।

तर, उपमहानगरपालिकाकी यान्त्रिक शाखा प्रमुख रेवा रावतका अनुसार सूचना प्रकाशनका क्रममा विवरण उल्लेख गर्न त्रुटि भएको हो। उनका अनुसार उपमहानगरले दुईवटा डबल क्याप पिकअपसँगै मेयर र उपमेयरका लागि दुईवटा बन्द बडीका गाडी पनि भाडामा लिन लागेको छ। बन्द बडीका गाडीको भाडा मासिक ९० हजार रुपैयाँका दरले हुने उनले बताइन्।

यसअनुसार चारवटा गाडी भाडामा लिँदा उपमहानगरपालिकालाई मासिक तीन लाख १० हजार रुपैयाँ खर्च हुने भएको छ। गाडीको मर्मत तथा सर्भिसिङ खर्च भने अब उपमहानगरले व्यहोर्न नपर्ने रावतले जानकारी दिइन्।


उनका अनुसार गत भदौ २४ गतेको आन्दोलनका क्रममा उपमहानगरपालिकाका छवटा गाडीमा आगजनी भएपछि सवारी व्यवस्थापनमा समस्या भएको थियो। आगजनीमा मेयर टीकाराम खड्काका लागि ल्याइएको नयाँ गाडीसमेत ध्वस्त भएको थियो।

त्यसपछि उपमहानगरपालिकाले तीनवटा गाडी भाडामा लिएर सञ्चालन गर्दै आएको थियो। ती गाडीधनीसँगको सम्झौता अवधि सकिएपछि नयाँ प्रक्रियाबाट गाडी भाडामा लिन सूचना जारी गरिएको रावतले बताइन्।

यसअघि भाडामा लिएका गाडीको मर्मत तथा सर्भिसिङ खर्चसमेत उपमहानगरले नै व्यहोर्दै आएको थियो। अब भने यस्तो खर्च गाडीधनीले नै व्यहोर्ने गरी गाडी भाडामा लिन लागिएको उपमहानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="