दाङ। दाङ क्षेत्र नम्बर ३ का सांसद कमल सुवेदीले निर्वाचन क्षेत्रमा आफूले उठाएका जनसरोकारका विषय सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको शून्य समयमा बोल्दै उनले फुर्केसल्ली र मलईका निकुञ्जपीडितको बस्ती स्थानान्तरण, लमही-घोराही-तुलसीपुर सडक निर्माणमा भइरहेको ढिलाइ र कमजोर मोबाइल नेटवर्कको समस्या समाधान गर्न माग गरे।
उनले शान्तिनगर, दङ्गीशरण र बबईका नागरिकले अझै पनि कमजोर नेटवर्कको समस्या भोगिरहेको भन्दै खानेपानी र विद्युत्को सहज पहुँच सुनिश्चित गर्न सरकारसँग आग्रह गरे।
सांसद सुवेदीले अस्पतालको सेवा सुधार, मलखाद र ग्यासको सहज आपूर्ति तथा शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराए। युवालाई विदेशिनबाट रोक्न स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ छ।
उनले संसदमा उठाइएका जनताका समस्या सम्बोधन गरी परिणाम देखिने गरी काम गर्न सरकारसँग माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस