after_navbar

तुलसीपुरमा कला र संगीत प्रशिक्षण केन्द्र सञ्चालनमा


११ घण्टा अगाडि


दाङ। स्थानीयस्तरमा रहेका कला तथा संगीतका प्रतिभालाई प्रशिक्षण र अवसर उपलब्ध गराउने उद्देश्यले तुलसीपुरमा ‘नमस्कार आर्ट ग्यालरी एण्ड म्युजिक ट्रेनिङ सेन्टर’ सञ्चालनमा आएको छ।

तुलसीपुर उपमहानगरपालिका-६ स्थित नेपाल रेडक्रस भवनमा स्थापना गरिएको केन्द्रको सोमबार उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले उद्घाटन गरेकी हुन्।

केन्द्रका संस्थापक लेखराज गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कला र संगीतलाई मनोरञ्जनमा मात्र सीमित नराखी सीप, सिर्जनशीलता, आत्मनिर्भरता र रोजगारीसँग जोड्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

उपप्रमुख चौधरीले कला तथा संगीत मानिसको जीवनसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताउँदै स्थानीय प्रतिभाको पहिचान र विकासमा यस्ता प्रशिक्षण केन्द्रले योगदान पुर्‍याउने बताइन्।

कार्यक्रममा कलाकार ओमलाल विक, प्याप्सन तुलसीपुर नगर अध्यक्ष डम्बर डाँगी र एन-प्याब्सन दाङका जिल्ला अध्यक्ष हरिप्रसाद भण्डारीलगायतले दाङमा कला तथा संगीतको राम्रो सम्भावना रहे पनि अवसर र प्रशिक्षणको अभावमा धेरै प्रतिभा ओझेलमा परेको बताए।

उनीहरूले नयाँ केन्द्रले स्थानीय प्रतिभाको खोजी, प्रशिक्षण र प्रस्तुतीकरणका लागि अवसर सिर्जना गर्दै राष्ट्रियस्तरका कलाकार उत्पादनमा योगदान गर्न सक्ने विश्वास व्यक्त गरे।

केन्द्रमा मुहार चित्र, दृश्य चित्र, ताम्रपत्र, शिलालेख, साइनबोर्ड तथा ब्यानर लेखनलगायत कलासम्बन्धी सीपको प्रशिक्षण दिइनेछ। संगीततर्फ बाँसुरी, मादल र हार्मोनियमलगायत वाद्यवादनका कक्षा सञ्चालन गरिने संस्थाले जनाएको छ।

संस्थापक गिरीले लामो समयदेखि आफूले कला तथा संगीत क्षेत्रमा हासिल गरेको ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको बताए। कार्यक्रममा सन्दीप चौधरीले स्वागत मन्तव्य दिएका थिए भने सहजीकरण शरद शर्मा मजगैयाँले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="